fbpx

काठमाडौँ २१ असोज – विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबारको बैठकले मापदण्डअनुसार बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।

मापदण्डअनुसार मृतकका परिवारले दुई लाख रुपैयाँ राहत पाउनेछन् । बाढीपहिरोबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास निर्माणको लागि ५० हजार रुपैयाँ दिने निर्णय भएको छ ।

अस्थायी आवास निर्माणका लागि तत्काल २५ हजार रुपैयाँ र आवासको संरचना निर्माण गरेपछि २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ । स्थायी आवास निर्माणका लागि भने हिमालमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ उपलब्ध गराइने छ ।

बैठकले सडक तथा अत्यावश्यक सेवा सुरु गर्न तीन वटै तहका सरकारबीच समन्वय गर्ने निर्णय पनि गरेको छ । सडकहरू संघीय, प्रदेश र स्थानीय सरकारको भएको हुनाले तद् निकायले आफ्नो सडक सेवा, खानेपानी विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवाहरु तत्काल सञ्चालन गर्ने निर्णय भएको जनाईएको छ ।

उक्त कार्यका लागि प्रदेश र स्थातीय सरकारलाई केन्द्र सरकारले सहयोग गर्ने निर्णय भएको छ । विपद्पछि महामारीको संभावना देखिएकोले स्वास्थ्य मन्त्रालयसँगै प्रदेश र स्थानिय सरकारका स्वासथ्य संस्थाले संयुक्त रुपमा पहल गरेर शतर्कता अपनाउने निर्णय गरिएको छ ।