fbpx

असोज २२ काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगानको जग्गासम्बन्धी घुस प्रकरणमा संलग्न रहेको अभियोगमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठमाथि भ्रष्टाचारको आरोप लगाएको हो।

जग्गा हिनामिना गर्ने योजनासहित ‘घुस डिल’ गरेको अडियो सार्वजनिक भएपछि पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठसहितलाई अख्तियारले बयान लिएर अनुसन्धान अघि बढाएको थियो । बिचौलियासहितका व्यक्तिको अडियोका आधारमा ‘लिचीबारी प्रकरण’मा मुद्दा अघि बढेको हो । तत्कालीन भूमिसुधारमन्त्री तथा एमाले नेता बलराम अधिकारीलाई भने मुद्दामा प्रतिवादी बनाइएको छैन ।

पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा सुकुम्बासीलाई बाँडेर लाभ उठाउने गरी तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाबीच भएको संवादको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए ।

मन्त्रीहरूसँगै तत्कालीन मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत रामचन्द्र अधिकारी र घुस डिल प्रकरणमा संलग्न सुजनकुमार तामाङ, एमकुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनलाई प्रतिवादी बनाइएको छ ।