fbpx

असोज २४ काठमाडौँ / नेपाली कांग्रेसको हिजो बिहीबार देखि सुरु पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पार्टी मुख्यालय सानेपामा पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित बैठकमा पार्टीको आसन्न महाधिवेशन, नेतृत्व र कार्यदिशाबारे छलफल भइरहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाकै निर्देशनमा बैठक डाकिएको भए पनि छलफलमा उनी सहभागी छैनन् । बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् ।

जेनजी आन्दोलनको मागअनुरुप पार्टीभित्र पुस्तान्तरणको बहस पेचिलो बनेको छ । आगामी पार्टी महाधिवेशनबाट युवा पुस्ताले चाहेजस्तो नेतृत्व चयन गर्नुपर्ने विषय कांग्रेसभित्र पनि उठिरहेको छ ।

प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनीकी पत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।