असोज २७ काठमाडौँ / दुई पटक उपराष्ट्रपति भइसकेका माओवादी नेता पुन र उनका दुई छोरा जितेन्द्र र दीपेश तथा उनी उपराष्ट्रपति छँदा ‘वैदेशिक मामिला विज्ञ’ का रूपमा नियुक्त जीवन गुरुङविरुद्ध पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ ।
जितेन्द्रले हुम्लापारि चिनियाँ भूमि ताक्लाकोट पुगेर तमसुक गरी ४ किलो सुन बुझेको भिडियो र तस्बिरसहितको समाचार कान्तिपुरले २७ फागुन २०८० मै बाहिर ल्याएको थियो ।
यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गरी हुम्लाबासी भएको कागजात बनाई सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट बनाएका थिए । त्यसपछि हुम्ला र चीनको सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ समाचार सार्वजनिक भएको थियो । सुनको भुक्तानीबाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो ।
पूर्वउपराष्ट्रपति पुनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी प्रकरण, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएपछि फरार रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।
२०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दिपेश मुछिएका छन् । सुन तस्करी प्रकरणमा गठन गरिएको जाँचबुझ आयोगले दीपेशको संलग्नता किटान गर्दै थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो ।
यसैगरी पुनको आफन्त अमला रोका समेत सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । ठमेलको ‘होटल भियना’समेत सञ्चालन गरेकी रोका गत असारमा दुई लाख धरौटीमा रिहा भएकी थिइन् ।
पूर्वउपराष्ट्रपति पुनका छोराहरु, आफन्त र उनको सचिवालयका सदस्य समेत सुन तस्करी प्रकरणमा मुछिएका र पुनको चिनियाँ टोलीसँग शंकास्पद सम्बन्ध रहेको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।


