असोज २७ काठमाडौँ / साताको दोस्रो दिन आज सोमबार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) वृद्धि भएको छ । आज नेप्से परिसूचक १.७६ बढेर २,५४७.६० विन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३.०५ प्रतिशतले घटेको थियो ।
सेयर कारोबार रकम घटेर चार अर्ब ९७ करोड ५४ लाख रुपैयाँको खरिदबिक्री भएको छ । आइतबार ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । कारोबार रकम साढे एक अर्बभन्दा बढीले घटेको हो ।
आज २०० कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ४४ कम्पनीको सेयरमूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर छ । नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र किस्ट माइक्रो इन्स्योरेन्स सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
एनआरएन इन्फ्राइट्रक्चर डेभलपमेन्टको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । नेपाल पुनर्बिमा कम्पनीको २६ करोड ४७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज सबै उपसूचक वृद्धि भएको छ । जसमध्ये सबैभन्दा धेरै अन्य उपसूचक समूह ५.०१ प्रतिशतले वृद्धि भएको छ ।


