fbpx

असोज २७ काठमाडौँ / नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले फागुन २१ गते तोकिएको निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न माग गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले चुनाव भन्दा अघि नियमित महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने जनाएको हो।

पार्टीमा नियमित वा विशेष महाधिवशेनको बहस चलिरहेको बेला नेविसंघले चुनाव अघि नै १५ औं महाधिवशेन गर्न पार्टीको ध्यानाकर्षण गराएको छ। २५ असोजमा भएको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै नेविसंघले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र बेतिथि विरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा अघि बढाउने जनाएको छ ।

संवैधानिक अंगहरुमा नियुक्ति दलीय भागवण्डाबाट मुक्त हुनुपर्ने माग गरेको नेविसंघले सबै राजनीतिक दलहरूको पुनर्संरचना प्रक्रिया अघि बढाई पार्टी, संसद, संघीय, प्रदेश र स्थानीय तहका निकायहरूमा युवा तथा विद्यार्थीको कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ।

यस्तै, नेपाली कांग्रेसका सबै तहका पदाधिकारी र सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने नीति नै बनाउन पनि नेविसंघले माग गरेको छ।

‘पार्टीलाई भ्रष्टाचार र बेथितिबाट मुक्त गर्दै सुशासन र पारदर्शिता प्रवर्र्द्धन गर्ने उद्देश्यका साथ, पार्टीका इकाइ सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, केन्द्रीय सदस्य, पदाधिकारी तथा केन्द्रीय सभापतिसम्मका सम्पत्तिको अद्यावधिक विवरण पार्टीले प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नीति अवलम्बन गर्न नेपाल विद्यार्थी संघले पार्टीसमक्ष औपचारिक माग गर्ने निर्णय गरियो, नेविसंघको निर्णयमा भनिएको छ।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन(जी आन्दोलन भड्काउने अभिव्यक्ति दिएकाले छानविन हुनुपर्ने माग पनि नेविसंघले गरेको छ। नेविसंघले देशको शान्ति सुरक्षा र स्थायित्व कायम गर्न जिम्मेवार सुरक्षा संयन्त्रहरूको मनोबल बढाउने काम गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।