fbpx

असोज २८ काठमाडौँ / प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट पेश भएका छन् । बिहान सवा ११ बजेसम्म पाँच रिट सर्वोच्च पुगेका हुन् । अदालतले रिट दर्ता खोलेलगत्तै सर्वोच्चमा प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटनविरुद्ध रिट पुगेका हुन् ।

असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न रिटमा माग गरिएको छ भने प्रधानमन्त्री र सरकारले गरेका निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।

अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल तथा मकबुल मियाको गरी पाँचवटा रिट सर्वोच्चमा पुर्‍याएका हुन् ।

अधिवक्ता प्रेमराज सिलवाल र कृतिनाथ शर्मा पौडेल, युवराज सफल र कानूनका विद्यार्थी विपना शर्मा र आयुश बडाललगायतले रिट दर्ताका लागि निवेदन दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । रिटको अध्ययन भइरहेको उनको भनाइ छ ।

शर्मा र बडालको रिट निवेदनमा प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक भएकोले खारेज गर्नुपर्ने माग गरिएको छ । उनीहरूले सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएको व्यक्ति कार्यकारी प्रमुख बन्न नपाउने दाबी गरिएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र विध्वंशपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।