असोज २८ काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए।
‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार बैठकमा भने। उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए। उनले नियमित महाधिवेशन हुने पनि बताए।
“१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्छु,” देउवाको भनाइ थियो ।
उनले आफू पाँच पटक प्रधानमन्त्री भए पनि पूरा कार्यकाल चलाउन नपाएको बताएका थिए। ‘पाँच पटक प्रधानमन्त्री भएँ। पाँच वर्ष पनि चलाउन पाइन,’ उनले भने।


