असोज २८ काठमाडौँ / मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सदनबाटै राजीनामा दिएका छन् । विश्वासको मत लिन आज सांसद बैठक डाकिएको थियो । सदनमा आफ्ना कुराहरू राख्दै उनले अन्तमा राजीनामा घोषणा गरेका हुन्।
मुख्यमन्त्री सिंहले आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बचन फेरेको आरोप लगाउँदै राजीनामा दिएका छन् । मधेश प्रदेश सभामा मंगलबार विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुअघि उनले सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
‘म सत्ता र पदका लागि होइन, जनताका लागि काम गर्न चाहन्छु । जनताको हित र संविधानको रक्षाका लागि यहाँ उभिएको छु,’ उनले भने, ‘वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै म मुख्यमन्त्रीको पदबाट राजीनामा गर्दछु ।’
प्रदेशसभामा अल्पमतमा परेपछि मुख्यमन्त्री सिंहले विश्वासको मत नलिँदै राजीनामा दिएका हुन् । सभामुख रामचन्द्र मण्डलले उनलाई विश्वासको मत नलिएको हुनाले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिन निर्देशन दिएका छन् ।


