असोज २८ काठमाडौँ / साताको सेयर कारोबार हुने तेस्रो दिन सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.६० अंकले घटेर ४३९.९४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्यमा गिरावट आएको छ भने ३ वटाको सेयर मूल्य बढेको छ ।
आज सेयर बजारमा २१४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ कम्पनीको सेयर मूल्य बढेको छ । ५ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब ९७ करोड माथिको कारोबार भएको थियो भने आज ३ अर्ब माथिको मात्रै कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ करोड सात लाख ४७ हजार ७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको सात लाख २६ हजार ६७३ कित्ता शेयर किनबेच भएको छ ।
परिसूचक घटे पनि बजारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।


