चैत २६ काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले आज साहलाई पदबाट हटाउने निर्णय गरेका हुन् ।
साह मन्त्री भएपछि श्रीमतिलाई पदीय मर्यादाको दुरुपयोग गरी स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुनः नियमित काममा सक्रिय गराएको भन्दै रास्वपाले बिहीबार नै कारबाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।
बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने पार्टीसमक्ष पेस गरेको थियो । रास्वपाले साहको यो गतिविधिबाट पार्टीको छवि, आर्दश, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको निष्कर्षसमेत निकालेको थियो ।
साथै पार्टीले यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेको थियो ।

