काठमाडौँ ,वैशाख ३० / राष्ट्रियसभाका सांसदहरूले राष्ट्रियसभाको बुधबार बसेको बैठक बाट संसदीय मर्यादा र गरिमा सबै पक्षबाट पालना हुनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले सङ्घीय संसद्को संयुक्त बैठकसँग सम्बन्धित विषयमा उठेका प्रश्नबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका हुन् ।
सांसद पदमबहादुर परियारले प्रधानमन्त्रीको उपस्थितिमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउनु उपयुक्त हुने बताउँदै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराए ।
सांसद सुरेश आलेमगर र रोशनी मेचेले संसदीय मर्यादा सबै राजनीतिक दल, सरकार र सांसदहरूबाट समान रूपमा पालना हुनुपर्नेमा जोड दिए । उनीहरूले संसद्लाई प्रभावकारी र मर्यादित बनाउने दायित्व सबै पक्षको भएको उल्लेख गरे।

