काठमाडौँ ,जेठ २२ / सरकारले सम्पर्कविहीन निजामती कर्मचारीहरुको खोजी गर्न थालेको छ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै कर्मचारी खोजी गर्न थालेको हो ।
अध्ययन तथा असाधारण बिदा सकिएपछि पनि कार्यक्षेत्रमा नफर्कने र सम्पर्कविहीन हुने निजामती कर्मचारीहरूलाई ३ दिनभित्र कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ ।
सूचनामा मन्त्रालयका अनुसार अध्ययन वा असाधारण बिदामा रहेका केही कर्मचारीहरू बिदा सकिएपछि पनि नियमअनुसार कार्यालयमा हाजिर नभएको र लामो समयदेखि सम्पर्कमा समेत नरहेको पाइएको उल्लेख छ।
साथै, कतिपय कर्मचारी हाजिर भए पनि उनीहरूको व्यक्तिगत विवरण राष्ट्रिय किताब खानामा अद्यावधिक नभएको देखिएको भन्दै अधिकारीले सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र अनिवार्य रूपमा राष्ट्रिय किताबखाना (निजामती) मा आफ्नो अभिलेख अद्यावधिक गराउन निर्देशन दिएका छन् ।
मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र केन्द्रीय स्तरका कार्यालयहरूलाई पनि आफ्ना कर्मचारीहरूको विवरण यकिन गर्न भनेको छ। बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा सकिएपछि हाजिर भए–नभएको अवस्था र अन्य आवश्यक विवरण राष्ट्रिय किताबखानासँग समन्वय गरी ३ दिनभित्रै अद्यावधिक गर्न मन्त्रालयले अनुरोध गरेको हो ।
पछिल्लो समय बिदा लिएर विदेश जाने वा अन्य पेशामा लाग्ने तर बिदा सकिएपछि पनि सरकारी सेवामा नफर्कने प्रवृत्ति बढिरहेको छ ।


