काठमाडौँ १४ असार/ फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ बाट कोलम्बिया समूह विजेता र पोर्चुगल उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन्।
मियामीमा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि कोलम्बियाले शीर्ष स्थान सुरक्षित गरेको हो। यस्तै, अर्को खेलमा डीआर कंगोले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै उत्कृष्ट तेस्रो स्थानका टोलीमध्ये पर्दै अन्तिम ३२ मा स्थान बनाएको छ।
मियामीस्थित हार्ड रक स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोली यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए। त्यसैले समूह विजेता बन्ने प्रतिस्पर्धाले खेललाई थप रोमाञ्चक बनाएको थियो।
खेलको सुरुआतमै कोलम्बियाले आक्रामक सुरुआत गरेको थियो। पहिलो मिनेटमै जोन कोर्डोबाको हेडर बारमाथिबाट बाहिरियो भने त्यसको केहीबेरपछि उनले गरेको अर्को प्रहार पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले उत्कृष्ट बचाउ गरे।
कप्तान क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले पहिलो हाफको उत्तरार्धमा लय समात्ने प्रयास गर्यो। ब्रुनो फर्नान्डेसले नजिकबाट गरेको प्रहारलाई कोलम्बियाका गोलरक्षक कामिलो भार्गासले बचाएका थिए। उज्बेकिस्तानविरुद्धको अघिल्लो खेलमा दुई गोल गरेका रोनाल्डो भने यस खेलमा प्रभाव जमाउन सकेनन्।
दोस्रो हाफमा कोलम्बियाले लगातार दबाब बनायो। रिचार्ड रियोस, गुस्ताभो पुर्टा र लुइस सुआरेजले गोलका अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
खेलको ९०औँ मिनेटमा डेभिन्सन सान्चेजले गरेको गोल अफसाइड ठहरिएपछि कोलम्बिया विजयी हुनबाट वञ्चित भयो। भिडियो सहायक रेफ्रीको निर्णयअनुसार उनको जुत्ताको टुप्पो अफसाइड देखिएको थियो।
यद्यपि गोलरहित बराबरीसँगै कोलम्बियाले तीन खेलबाट सात अंक जोड्दै समूह ‘के’ को विजेता बन्न सफल भयो। पाँच अंक जोडेको पोर्चुगल उपविजेताका रूपमा नकआउट चरणमा पुग्यो।
अब नकआउट चरणमा कोलम्बियाले जुलाई ४ मा घानासँग प्रतिस्पर्धा गर्नेछ भने पोर्चुगलले जुलाई ३ मा क्रोएसियाको सामना गर्नेछ।

