काठमाडौँ १४ असार / इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले अमेरिकी हमलाको जवाफमा यो कदम चालेको दाबी गर्दै कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको छ।
कुवेतको सेनाले आइतबार बिहानै आफ्नो वायु रक्षा प्रणालीले सम्भावित आक्रमणहरूलाई बीचमै रोकिरहेको जनाएको छ। यता बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै देशमा आपत्कालीन साइरन बजाइएको र नागरिकहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
यसअघि शनिबार अमेरिकी सेन्ट्रल कमान्डले व्यापारिक जहाजहरूमाथि भएका इरानी हमलाको जवाफमा इरानको सैन्य निगरानी प्रणाली, सञ्चार संयन्त्र, वायु रक्षा साइट र ड्रोन भण्डारण केन्द्रहरूमा शक्तिशाली हवाई आक्रमण गरेको थियो।
सोही अमेरिकी कारबाहीको बदलास्वरूप इरानले यो पछिल्लो सैन्य कदम चालेको हो। यस घटनाले मध्यपूर्वकाे तनावलाई थप भयावह मोडमा पुर्याएको छ।

