काठमाडौं, १८ साउन — लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो र ढुंगा खसेपछि मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुल नजिक माथिबाट ढुंगा खसेको छ। यस्तै, सिमलताल क्षेत्रमा लेदो बगेर सडकमा आएपछि यातायात एकतर्फी मात्रै सञ्चालन गर्नुपरेको हो।
सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक डिभिजनले आवश्यक उपकरण र जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिसकेको जनाएको छ। मौसममा थप समस्या नआए र पुनः पहिरो वा ढुंगा नखसेमा आगामी एक घण्टाभित्र सडक दुवैतर्फ सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ।
यसैबीच, प्रभावित क्षेत्रमा अहिले पनि वर्षा भइरहेकाले पहिरोको जोखिम कायम रहेको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ। त्यसैले सो मार्ग प्रयोग गर्ने चालक तथा यात्रुले सडकको पछिल्लो अवस्था बुझेर मात्रै सावधानीपूर्वक यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ।

