काठमाडौं, १ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दु धर्मावलम्बीहरूले घर तथा कार्यालयका मूल ढोकामा नागको चित्र टाँसेर विधिपूर्वक नाग देवताको पूजा आराधना गर्ने परम्परा छ।
नागपञ्चमीका दिन बिहान स्नान गरी दियो, कलश तथा गणेशको पूजा गरेपछि घरको मूलढोकामा गोबरको प्रयोग गरी नागको चित्र टाँस्ने चलन छ। त्यसपछि नागको चित्रमा दही, दुबो, कुश, सिन्दूर तथा चन्दन चढाएर पूजा गरिन्छ। यसरी नागको पूजा गरेमा सर्प तथा बिच्छीजस्ता विषालु जीवबाट हुने जोखिम कम हुने तथा घरपरिवारमा अग्नि, मेघ र चट्याङको भय नहुने धार्मिक विश्वास रहिआएको छ।
धार्मिक ग्रन्थअनुसार नागपञ्चमीमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गर्ने विधान छ। यस दिन नाग स्तोत्र पाठ गर्दै नागको चित्र घरको ढोकामा स्थापना गर्ने प्रचलनसमेत रहेको छ।
ज्योतिषीय मान्यताअनुसार नागको शिर महिनाअनुसार फरक दिशातर्फ रहने विश्वास गरिन्छ। यस वर्ष नागपञ्चमी भदौ महिनामा परेकाले नागको शिर पूर्व दिशामा रहेको मानी पूजा गर्नुपर्ने उल्लेख छ। नागको चित्र टाँस्न बिहान ५ः३५ बजेसम्मको ‘अमृत बेला’ तथा बिहान ७ः१४ देखि ८ः५० बजेसम्मको ‘शुभ बेला’ उत्तम मानिएको छ।
नागपञ्चमीलाई ज्योतिषीय दृष्टिले पनि महत्वपूर्ण दिनका रूपमा लिइन्छ। कुण्डलीमा राहु र केतुका कारण बन्ने भनिएको ‘कालसर्प योग’बाट मुक्ति प्राप्त गर्ने उद्देश्यले यस दिन विशेष रूपमा नागको पूजा गर्ने गरिन्छ। नयाँ घर निर्माण गर्दा हुने भनिएको नाग दोष निवारणका लागि पनि भूमिमा नाग देवताको विधिपूर्वक पूजा गर्ने धार्मिक चलन छ।
नागपञ्चमीमा विभिन्न नाग स्तोत्र पाठ गर्ने परम्परा छ। साथै, नाग देवताप्रति श्रद्धा व्यक्त गर्दै अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, शङ्खलगायत नागहरूको स्मरण तथा पूजा गरिन्छ।
धार्मिक आस्थासँगै प्राकृतिक सन्तुलनका दृष्टिले पनि सर्पको महत्वपूर्ण भूमिका रहेको जानकारहरू बताउँछन्। सर्पले मुसालगायत विभिन्न जीवको संख्या नियन्त्रणमा राख्दै पारिस्थितिक प्रणालीको सन्तुलन कायम गर्न योगदान पुर्याउँछन्। यही कारण सर्प तथा नागप्रति सम्मान व्यक्त गर्ने परम्परा धार्मिक संस्कारसँगै प्रकृतिसँगको सम्बन्धको प्रतीकका रूपमा पनि हेरिन्छ।
नागपञ्चमीका अवसरमा काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका विभिन्न नागदह, कुण्ड तथा नागस्थानमा भक्तजनको भीड लाग्ने गर्दछ। श्रद्धालुहरू व्रत बसेर नाग देवताको पूजा गर्ने तथा फूल, प्रसाद, फलफूललगायत सामग्री अर्पण गर्ने गर्दछन्।
नागपञ्चमीलाई वर्षायामसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ। परम्परागत मान्यताअनुसार यस पर्वसँगै वर्षायाम क्रमशः अन्त्यतर्फ लाग्ने र हिउँदको सुरुआत हुने विश्वाससमेत रहेको छ।

