fbpx

काठमाडौं, ०२ भदौ । देशभर मनसुनी वायुको प्रभाव जारी रहेकाले आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा र पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ।

मनसुनी प्रणालीको प्रभावका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भूभागमा बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। यस्तै, पहाडी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यसैगरी, कोशी प्रदेशको तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्य बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।