fbpx

काठमाडौं, भदौ ३/ देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था देखिएको छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोशीका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै, कोशीको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

रातिको समयमा हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र सुदूरपश्चिमको तराई क्षेत्रमा पनि आकाश अधिकांश समय बदली रहने तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

राति हिमाली क्षेत्रका थोरै स्थानमा तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी र लुम्बिनीका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आकस्मिक बाढी, डुबान तथा सडक यातायातमा अवरोध हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।