काठमाडौं, भदौ १०: रसुवाबाट आएको आकस्मिक बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै धादिङ प्रशासनले नदी किनारका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
धादिङका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा त्रिशूली नदीमा आकस्मिक बाढी आएको जानकारी प्राप्त भएकाले नदीको बहाव बढ्न सक्ने र त्यसबाट विपद्को जोखिम उत्पन्न हुन सक्ने उल्लेख गरिएको छ।
प्रशासनले नदीमा माछा मार्ने तथा अन्य कामका लागि जाने व्यक्ति र मजदुरलाई नदीमा नजान तथा गइसकेको भए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
त्यस्तै, त्रिशूली नदी आसपास बसोबास गर्ने सर्वसाधारण, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाहरू र नदी तटीय क्षेत्रमा रहेका कार्यालयलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
सम्भावित विपद्जन्य घटना भएमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि वा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पनि आग्रह गरिएको छ।
प्रशासनले सूचनामार्फत नेपाल प्रहरीको हटलाइन १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।

