fbpx

काठमाडौं, भदौ १७। प्रतिनिधिसभाले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद्लाई सम्बोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले पेश गरेको प्रस्ताव सांसदहरूको सर्वसम्मत समर्थनमा पारित भएको हो।

प्रस्तावमार्फत सभामुख अर्यालले बाढी तथा विपद्का कारण ज्यान गुमाएका स्वदेशी र विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले मृतकका परिवार, आफन्त तथा सम्बन्धित मुलुकप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

विपद्बाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति राज्य संवेदनशील हुनुपर्नेमा सभामुख अर्यालले जोड दिए। विशेषगरी महिला तथा बालबालिकाको सुरक्षा र संरक्षण सुनिश्चित गर्दै उनीहरूलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायलाई उनले आग्रह गरे।

सभामुख अर्यालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै गएको र त्यसको असर हिमनदी तथा हिमतालमा समेत देखिन थालेको बताए। जलवायु परिवर्तनबाट उत्पन्न जोखिमलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै उनले यस विषयमा अन्तर्राष्ट्रिय तहमा नेपालको धारणा थप प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए।

जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका क्षति तथा नोक्सानीलाई अन्तर्राष्ट्रिय बहसमा स्पष्ट र सशक्त ढंगले उठाउन सरकारको ध्यानाकर्षण गराउँदै उनले विपद् व्यवस्थापनमा पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताए।

उनका अनुसार हालैको विपद्ले भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र नियमित निगरानीको आवश्यकता झन् स्पष्ट पारेको छ। हिमताल र हिमनदीको निरन्तर अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सम्पूर्ण संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्न आग्रह गरे। विस्थापित नागरिकलाई सुरक्षित रूपमा पुनःस्थापित गर्दै उद्धार कार्यलाई थप तीव्र बनाउनसमेत उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए।