काठमाडौं, भदौ २२। अर्लाङकोट सेवा समाज जापानको आगामी कार्यकालका लागि वर्तमान उपाध्यक्ष मुकेश सापकोटाले अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। संस्थाको विभिन्न जिम्मेवारीमा रहेर लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका सापकोटाले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको आग्रह र समर्थनपछि नेतृत्वका लागि अघि बढ्ने निर्णय गरेका हुन्।
सन् २०१८ देखि संस्थासँग जोडिएका सापकोटा २०१८–२०२२ को कार्यकालमा कार्यसमिति सदस्यका रूपमा सक्रिय थिए। त्यस क्रममा उनले संस्थाका कार्यक्रमको व्यवस्थापन, सञ्चालन तथा विभिन्न सामाजिक संस्थासँगको समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
त्यसपछि २०२२ देखि २०२६ सम्मको कार्यकालमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका उनले संस्थाका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर योगदान दिँदै आएका छन्। जिम्मेवारी निर्वाहका क्रममा देखाएको सक्रियता र संस्थागत अनुभवलाई नै उनले आगामी नेतृत्वका लागि आफ्नो आधारका रूपमा अघि सारेका छन्।
आर्थिक व्यवस्थापनदेखि सामाजिक अभियानसम्म सक्रिय
संस्थाको कार्यकालकै क्रममा तत्कालीन कोषाध्यक्षले जापान छाडेपछि उत्पन्न परिस्थितिमा सापकोटाले आर्थिक कारोबार तथा वित्तीय व्यवस्थापनको जिम्मेवारीसमेत सम्हालेका थिए। चुनौतीपूर्ण अवस्थामा संस्थाको आर्थिक गतिविधिलाई निरन्तरता दिन उनले निर्वाह गरेको भूमिकाले उनको व्यवस्थापकीय क्षमता र जिम्मेवारीप्रतिको प्रतिबद्धता देखाएको संस्थासँग सम्बन्धित व्यक्तिहरू बताउँछन्।
अर्लाङकोट सेवा समाज जापानले स्थापनाकालदेखि नै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। विपन्न तथा असहाय परिवारलाई राहत सहयोग, स्वास्थ्य सेवा, शिक्षा तथा विद्यालय सहयोगलगायतका अभियानमा संस्थाले निरन्तर काम गर्दै आएको छ।
यी सेवामूलक तथा परोपकारी अभियानमा सापकोटा पनि सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। संस्थाको सामाजिक उद्देश्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनको धारणा छ।
‘पारदर्शी र समावेशी नेतृत्व मेरो प्राथमिकता’
अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका सापकोटाले छिटो निर्णय क्षमता, पारदर्शी कार्यशैली र सबैलाई समेटेर अघि बढ्ने नेतृत्वलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन्।
उनले संस्थालाई आगामी दिनमा अझ सुदृढ, पारदर्शी, व्यवस्थित र परिणाममुखी बनाउने लक्ष्यसहित आफ्नो नेतृत्वको दृष्टिकोण सार्वजनिक गरेका छन्। संस्थाभित्रको एकता कायम राख्दै सामाजिक सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने उनको योजना छ।
अध्यक्ष पदका लागि अघि बढेका सापकोटाले अर्लाङकोट सेवा समाज जापानका अग्रज व्यक्तित्व, कार्यसमिति, सदस्य तथा जापानमा रहेका सम्पूर्ण अर्लाङकोटवासीको साथ, सहयोग र विश्वास आफूले अपेक्षा गरेको बताएका छन्।
संस्थाको आगामी नेतृत्व चयनसँगै अर्लाङकोट सेवा समाज जापानमा नयाँ नेतृत्वका विषयमा चासो बढेको छ। सापकोटाको दाबेदारीसँगै आगामी कार्यकालमा संस्थाको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय थप रोचक बनेको छ।

