fbpx

काठमाडौं, भदौ २८। रसुवाको भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीको वास्तविक कारण पत्ता लगाउन सरकारले वैज्ञानिक अध्ययन गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विज्ञ सम्मिलित समिति गठन गरी अध्ययन अघि बढाउन लागेको हो।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार अध्ययनका लागि स्वदेशी तथा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइनेछ। समितिलाई करिब दुई महिनाको समय दिएर बाढीको उत्पत्ति, त्यससँग जोडिएका हिमाली जोखिम र तल्लो क्षेत्रमा बाढी फैलिएको प्रक्रियाबारे अध्ययन गरिनेछ।

जल तथा ऊर्जा आयोगको सचिवालयका अनुसार भोटेकोशीको घटना सामान्य बाढी वा अतिवृष्टिका कारण मात्र भएको हो कि हिमनदी, पहिरो, भू–अस्थिरता र नदीको बहावलगायत जोखिमको श्रृंखलाबद्ध परिणाम हो भन्ने अझै स्पष्ट वैज्ञानिक प्रमाणबाट पुष्टि भएको छैन।

अध्ययन तीन चरणमा गरिनेछ। पहिलो चरणमा घटनाको समयक्रम र भौतिक क्षतिको विश्लेषण, दोस्रोमा बाढीका तत्कालीन तथा अन्तर्निहित कारणको पहिचान र तेस्रो चरणमा जलवायु परिवर्तनले घटनाको सम्भावना तथा तीव्रतामा पारेको प्रभावको वैज्ञानिक मूल्यांकन गरिने मन्त्रालयले जनाएको छ।

अध्ययनमा हिमनदी विज्ञान, भूगर्भशास्त्र, पहिरो विज्ञान, जलविज्ञान, मौसम तथा जलवायु विज्ञान, रिमोट सेन्सिङ र विपद् जोखिम व्यवस्थापनलगायत क्षेत्रका विशेषज्ञ सहभागी हुनेछन्।