काठमाडौं, भदौ २८। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक ट्र्याकमा ग्राभेल हाल्ने काम सुरु भएको छ। सडकको चौडाइ बढाउने र सतह सम्याउने कामसँगै ग्राभेल बिछ्याउन थालिएको हो।
भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि राजमार्गको एक हिस्सा भासिएको थियो। त्यसपछि सडक सञ्चालनमा ल्याउन पहाड काटेर नयाँ ट्र्याक निर्माण अघि बढाइएको हो। अहिले ट्र्याकको दुवै छेउबाट काम तीव्र गतिमा भइरहेको छ।
नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार अहिले ग्राभेल बिछ्याउने कामलाई प्राथमिकता दिइएको छ। केही दिनमै ट्र्याकलाई यातायात सञ्चालनका लागि तयार गर्ने लक्ष्यसहित ठूलो संख्यामा निर्माण उपकरण र जनशक्ति परिचालन गरिएको उनले बताए।
कृष्णभीर खण्ड राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक मार्ग हो। यस राजमार्गबाट दैनिक १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमा विशेषगरी ग्यास तथा खाद्यान्न आपूर्तिमा समस्या देखिएको छ। नयाँ ट्र्याक छिटो सञ्चालनमा ल्याउन सके आपूर्ति व्यवस्था सहज हुने अपेक्षा गरिएको छ।

