काठमाडौं, भदौ ३०। रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण जलविद्युत् उत्पादनमा असर परेपछि नेपालले भारतबाट दैनिक ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउने भएको छ।
भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म विद्युत् आयातको अनुमति दिएको हो। अनुमति अनुसार नेपालले दैनिक १८ घण्टासम्म भारतीय विद्युत् प्रयोग गर्न सक्नेछ।
मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनबाट अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट लाइनबाट थप ५४ मेगावाट विद्युत् ल्याउन सकिनेछ। दुवै प्रसारण लाइनबाट गरी आयात गर्न सकिने अधिकतम विद्युत् क्षमता ६५४ मेगावाट पुगेको हो।
भारतले सन् २०२७ जनवरीदेखि नेपाललाई उपलब्ध गराउने विद्युत्को परिमाण भने सन् २०२६ डिसेम्बरमा पुनरावलोकन गर्ने जनाएको छ।
भोटेकोसी बाढीका कारण नेपालको ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक मूल्यांकन गरिएको छ। पुनर्निर्माण तथा क्षतिग्रस्त उपकरण प्रतिस्थापनसहित ऊर्जा पूर्वाधारमा करिब १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान छ। ऊर्जा क्षेत्रको प्रत्यक्ष आर्थिक क्षति भने करिब १६ अर्ब ३४ करोड रुपैयाँ रहेको आकलन गरिएको छ।
क्षतिको मूल्यांकनमा जलविद्युत् तथा सौर्य आयोजना, सबस्टेसन, प्रसारण लाइन, स्वीचयार्ड र विद्युत् वितरण संरचनालगायतका पूर्वाधार समेटिएका छन्। बाढीबाट घरपरिवार तथा समुदायले प्रयोग गर्दै आएका नवीकरणीय ऊर्जा प्रविधिमा भएको क्षतिलाई समेत मूल्यांकनमा समावेश गरिएको छ।
बाढीले १३ वटा जलविद्युत् आयोजनामा असर पुर्याएको छ। ती आयोजनाको कुल क्षमता ७५९.०२५ मेगावाट रहेको छ। त्यसमध्ये सञ्चालनमा रहेका सात आयोजनाको क्षमता २५०.४०० मेगावाट थियो भने ५०८.६२५ मेगावाट क्षमताका छ आयोजना निर्माणाधीन अवस्थामा थिए।
यसैगरी बाढीबाट पाँचवटा सञ्चालनमा रहेका सौर्य ऊर्जा प्लान्टमा समेत क्षति पुगेको छ। ती प्लान्टबाट कुल २४.३६० मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो।

