fbpx

काठमाडौं, भदौ ३०। संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिले आज विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका छन्।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १० बजे सुरु हुनेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि क्यासिनो व्यवसायी तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भने बिहान ८ बजे बस्नेछ। बैठकमा भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका विषयमा छलफल गरिनेछ।

त्यस क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयले गरिरहेका तथा सम्पन्न गरेका काम, कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौती तथा आगामी रणनीतिबारे पनि समितिले मन्त्रालयसँग जानकारी लिनेछ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ। समितिले ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ को प्रतिवेदनमाथि छलफल गर्नेछ।

यस्तै, सोही समितिको दिउँसो १ बजे बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ।

यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा समितिको वार्षिक प्रतिवेदनका विषयमा छलफल गरिने जनाइएको छ।