गुल्मी ०९ असोज । २२ वर्षकै उमेरमा साविक अर्लाङ्गकोट गाविसको उपाध्यक्षमा निर्वाचित भएर चर्चा कमाउनुभएका कृष्णप्रसाद सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा अघि बढ्नुभएको छ।
हाल मुसिकोट नगरपालिका–९, अर्लाङ्गकोट निवासी सापकोटाको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि सुरु भएको हो। तीन दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेसको संगठन र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएका उहाँले विद्यार्थी राजनीति हुँदै स्थानीय जनप्रतिनिधि, तरुण दल र पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रालाई निरन्तरता दिनुभएको छ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा
सापकोटा २०४३ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै राजनीतिक यात्रामा प्रवेश गर्नुभएको थियो। २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएका उहाँ २०४७ सालमा नेविसंघ अर्लाङ्गकोटको सभापति बन्नुभयो।
त्यसपछि २०५० सालमा नेविसंघ छैटौँ महाधिवेशन तयारी समितिको सदस्य तथा २०५२ सालमा नेविसंघ गुल्मी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्नुभयो।
२०५४ सालमा नेपाली कांग्रेसका तर्फबाट साविक अर्लाङ्गकोट गाविसको उपाध्यक्षमा निर्वाचित हुँदा उहाँ जम्मा २२ वर्षको हुनुहुन्थ्यो। युवा उमेरमै स्थानीय तहको नेतृत्वदायी जिम्मेवारीमा पुग्नुभएका सापकोटा त्यतिबेला गुल्मीका कान्छा जनप्रतिनिधिमध्ये एकका रूपमा चर्चित बन्नुभएको थियो।
तरुण दलदेखि कांग्रेसको केन्द्रीय जिम्मेवारीसम्म
जनप्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गरेसँगै सापकोटाले पार्टी संगठनमा पनि आफ्नो सक्रियता निरन्तर बढाउँदै लैजानुभयो। २०५५ सालमा नेपाल तरुण दलको संस्थापक जिल्ला सदस्यको जिम्मेवारी सम्हाल्नुभयो।
त्यसैगरी २०६८ सालमा नेपाल तरुण दल केन्द्रीय सामाजिक तथा सांस्कृतिक विभागको उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो। २०७७ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय जनसम्पर्क तथा समन्वय विभागको सदस्यका रूपमा समेत काम गर्नुभयो।
पार्टीको १४औँ महाधिवेशनमा गुल्मी क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भइसक्नुभएका सापकोटा अहिले १५औँ महाधिवेशनका लागि पुनः सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्नुभएको हो।
हाल उहाँ नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सदस्यका रूपमा पार्टीका गतिविधिमा सक्रिय रहनुभएको छ।
लामो राजनीतिक अनुभवसहित महाधिवेशनमा
विद्यार्थी राजनीतिबाट सुरु भएको तीन दशकभन्दा लामो राजनीतिक यात्रामा विभिन्न तहका जिम्मेवारी सम्हालिसक्नुभएका सापकोटाले आफूले प्राप्त गरेको अनुभवलाई पार्टी संगठन सुदृढीकरण, कार्यकर्ताबीचको एकता र जनतासँगको सम्बन्ध थप मजबुत बनाउन उपयोग गर्ने बताउनुभएको छ।
युवा उमेरमै जनप्रतिनिधिको जिम्मेवारी सम्हालेर राजनीतिक क्षेत्रमा स्थापित हुनुभएका सापकोटाको उम्मेदवारीलाई गुल्मी क्षेत्र नं. २ मा अनुभव र निरन्तरतासँग जोडिएको उम्मेदवारीका रूपमा हेरिएको छ।

