काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोप क्षेत्रबाट केन्द्रीय सदस्य पदका लागि सामाजिक अभियन्ता तथा प्रवासी नेपाली समुदायका अगुवा पूर्ण हमालले उम्मेदवारी प्रस्तुत गरेका छन्।
विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका हमालले नेपाली कांग्रेसको संगठन निर्माण, विस्तार तथा प्रवासमा नेपाली समुदायलाई संगठित गर्ने अभियानमा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन्। २०४६ सालको ऐतिहासिक जनआन्दोलनका क्रममा समेत उनी लोकतन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय थिए। सोही क्रममा उनी हालका राष्ट्रपति रामचन्द्र पौडेलसँगै जेलसमेत बसेका थिए। लोकतन्त्र र राजनीतिक परिवर्तनका लागि गरेको संघर्षलाई आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण आधारका रूपमा हमालले लिँदै आएका छन्।
सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय हमाल गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष समेत हुन्। उनले एनआरएनएको संगठन निर्माण र प्रवासी नेपालीलाई एउटै संस्थागत छातामुनि जोड्ने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। एनआरएनएको पूर्व केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सल्लाहकार तथा सम्मानित सदस्यका रूपमा समेत उनले जिम्मेवारी सम्हालिसकेका छन्।
लामो समयदेखि पोर्चुगलमा बस्दै आएका हमाल नेपाली समुदायको सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्। प्रवासमा नेपालीको अधिकार, पहिचान, सामाजिक सुरक्षा तथा नेपालसँगको सम्बन्धलाई बलियो बनाउने विषयमा समेत उनले विभिन्न तहमा काम गर्दै आएको बताइन्छ।
नेपाली कांग्रेसको प्रवास संगठनसँग पनि उनको लामो सम्बन्ध रहेको छ। सन् २०२२ मा नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि गठन गरेको प्रवास समन्वय प्रचार–प्रसार उपसमितिमा पोर्चुगलबाट पूर्ण हमाललाई सदस्यको जिम्मेवारी दिइएको थियो। यसबाट पनि पार्टीको प्रवाससम्बन्धी गतिविधिमा उनको भूमिकालाई निरन्तरता दिइएको देखिन्छ।
पोर्चुगलमा सामाजिक तथा सामुदायिक गतिविधिसँगै व्यवसायिक क्षेत्रमा समेत संलग्न रहँदै आएका हमालले प्रवासमा हासिल गरेको ज्ञान, सीप, अनुभव, कला, प्रविधि र पुँजीलाई नेपालको विकास तथा समृद्धिसँग जोड्नुपर्ने विषयलाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सारेका छन्।
उनको उम्मेदवारीले प्रवासमा रहेका नेपालीलाई नेपाली कांग्रेसको मूलधारको राजनीतिक संरचनासँग थप प्रभावकारी रूपमा जोड्ने बहसलाई समेत अगाडि ल्याएको छ। प्रवासी नेपालीका समस्या र अपेक्षालाई पार्टीको नीति तथा निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उठाउने, प्रवासमा कांग्रेसको संगठन विस्तार गर्ने तथा विदेशमा रहेका नेपालीको अनुभव र स्रोतलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्ने उनको अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ।
लामो राजनीतिक, सामाजिक तथा प्रवासी संगठनात्मक अनुभवलाई आधार बनाउँदै हमालले आफूलाई युरोप क्षेत्रबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गराउन नेपाली कांग्रेसका १५औँ महाधिवेशनका प्रतिनिधिहरूसँग सहयोग, समर्थन र अमूल्य मतका लागि आग्रह गरेका छन्।
लोकतान्त्रिक आन्दोलनको अनुभवदेखि एनआरएनए अभियान र प्रवासी नेपाली समुदायसँगको लामो सहकार्यसम्मको यात्रालाई राजनीतिक अनुभवका रूपमा प्रस्तुत गर्दै हमालले यसपटक कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रवासको आवाजलाई सशक्त बनाउन आफू अघि बढेको बताएका छन्।

