काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रवासबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वको बहस तीव्र भइरहेका बेला स्पेनबाट चिन्तामणि सापकोटाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
कांग्रेसको नयाँ विधानअनुसार विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व हुने व्यवस्था भएपछि प्रवासमा रहेका कांग्रेस नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। जनसम्पर्क समितिबाट एक महिलासहित ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। युरोपको एक सिटका लागि विभिन्न देशबाट आकांक्षीहरू मैदानमा देखिएका छन्, जसमा स्पेनका सापकोटा पनि छन्।
सापकोटाको राजनीतिक परिचय प्रवासमा नेपाली कांग्रेसको संगठन निर्माण र जनसम्पर्क समितिको गतिविधिसँग जोडिएको छ। उनी नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्षका रूपमा लामो समयदेखि कांग्रेसको प्रवासी संगठनमा सक्रिय रहँदै आएका छन्।
सापकोटाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि विदेशमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता तथा प्रवासी नेपालीका मुद्दालाई पार्टीको केन्द्रीय नीति निर्माण तहसम्म पुर्याउने प्रयासका रूपमा अघि सारेका छन्।
प्रवासमा नेपाली कांग्रेसको संगठन विस्तार, नेपाली समुदायका सवाल र गैरआवासीय नेपालीसँग सम्बन्धित विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका सापकोटा पछिल्ला वर्षहरूमा एनआरएनए तथा जनसम्पर्क समितिसँग सम्बन्धित विभिन्न गतिविधिमा समेत सहभागी हुँदै आएका छन्। २०२५ मा आयोजित प्रवासमा नेपालीसम्बन्धी कांग्रेसको छलफल कार्यक्रममा पनि सापकोटा सहभागी भएका थिए ।

