fbpx

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागलुङका नेता अर्जुन शेरचनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्। शेरचनले अल्पसंख्यक समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

शेरचनको उम्मेदवारी सार्वजनिक भएसँगै बागलुङ कांग्रेसको राजनीतिमा मात्र नभई समावेशी प्रतिनिधित्वको सवालमा समेत उनको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ। उनले आफ्नो उम्मेदवारीमार्फत पार्टीभित्र सबै समुदायको सहभागिता, समावेशी नेतृत्व र सबल संगठन निर्माणलाई प्राथमिकतामा राख्ने सन्देश दिएका छन्।

ढोरपाटन क्षेत्रमा सामाजिक तथा राजनीतिक गतिविधिमा पनि उनको सहभागिता देखिन्छ। कोरोना महामारी र बाढीपहिरोका समयमा कांग्रेस नेताहरूसँगै राहत तथा सहयोगका गतिविधिमा सहभागी भई दुखमा परेका जनता लाइ सहयोग गरेका थिए ।

शेरचनले अहिले १५औँ महाधिवेशनमा अल्पसंख्यक समूहबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी अघि सारेका छन्। उनको प्रचार सामग्रीमा ‘सबैको सहभागिता, समावेशी नेतृत्व’ भन्ने मूल सन्देश राखिएको छ।

उनको उम्मेदवारीले कांग्रेसभित्र लामो समयदेखि उठ्दै आएको समावेशी प्रतिनिधित्वलाई संगठनको नेतृत्व तहसम्म प्रभावकारी रूपमा स्थापित गर्ने बहसलाई पनि थप बल दिने देखिन्छ।

१५औँ महाधिवेशनमा अल्पसंख्यक समुदायबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएका शेरचनले आफ्नो राजनीतिक योगदान, संगठनात्मक सक्रियता र समावेशी नेतृत्वको एजेन्डालाई आधार बनाएर महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्दै आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन्।

उनको उम्मेदवारीसँगै बागलुङबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ।