काठमाडौं, २२ असोज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।
विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका मुस्कानले लामो समय पार्टीको संगठन निर्माण र नेतृत्व तहमा काम गर्दै आएका छन्। उनले नेपाल विद्यार्थी संघ अर्घाखाँचीको जिल्ला सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए। त्यसपछि कांग्रेस अर्घाखाँचीको जिल्ला कार्यसमितिमा सचिव, उपसभापति हुँदै जिल्ला सभापतिको जिम्मेवारीमा पुगेका थिए।
उनको राजनीतिक यात्रामा स्थानीय तहदेखि जिल्ला र प्रदेशस्तरको संगठन निर्माणमा निरन्तर सक्रियता देखिन्छ। हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्रीका रूपमा कार्यरत मुस्कानले १५औँ महाधिवेशनमार्फत पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका विस्तार गर्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेका हुन्।
उम्मेदवारी सार्वजनिक गर्दै मुस्कानले नेपाली कांग्रेसका सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत प्रदान गरी आफूलाई अत्यधिक मतका साथ विजयी गराइदिन आग्रह गरेका छन्।
उनले पार्टीको संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको भावना र अपेक्षालाई नेतृत्व तहसम्म पुर्याउने तथा लुम्बिनी प्रदेशको प्रतिनिधित्वलाई केन्द्रीय तहमा प्रभावकारी बनाउने विषयलाई आफ्नो उम्मेदवारीसँग जोड्दै आएका छन्।
१५औँ महाधिवेशनमा लुम्बिनी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदका लागि मुस्कानको उम्मेदवारीसँगै प्रदेशबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वको प्रतिस्पर्धा थप चर्चामा आएको छ।

