fbpx

काठमाडौँ, १२ मङ्सिर। ड्युटीका क्रममा सेवाग्राहीसँग आर्थिक लाभ लिएको आरोपमा बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्।

ट्राफिक प्रहरी पोशाकमै सेवाग्राहीबाट रकम लिइरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।

निलम्बनमा पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेअन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत श्रीषराम थारु र नेपालगञ्जस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत तोपबहादुर खड्का रहेका छन्।

गत मङ्सिर १० गते उनीहरूले ड्युटीमा रहेकै अवस्थामा सेवाग्राहीसँग रकम लिएको देखिने भिडियो फेसबुकसहित विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियो सार्वजनिक भएपछि सम्बन्धित प्रहरी कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार दुवै प्रहरी जवानलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम मङ्सिर ११ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।