fbpx

काठमाडौँ, १२ मङ्सिर । नेपालमा अमेरिकी लगानी आकर्षित गर्न कर प्रणालीलाई स्थिर र पूर्वानुमानयोग्य बनाउनुपर्ने, बौद्धिक सम्पत्ति अधिकारको सुनिश्चितता गर्नुपर्ने तथा सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी बनाउनुपर्नेमा अमेरिकी दूतावासले जोड दिएको छ ।

नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन निजी क्षेत्रका लागि अनुकूल व्यावसायिक वातावरण आवश्यक रहेको नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख स्कट अर्बोमले बताएका छन् । नेपाल–अमेरिका उद्योग वाणिज्य संघ (नुसाक्की) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा अमेरिकी कम्पनीहरूको लगानी तथा व्यवसाय विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

अर्बोमका अनुसार नेपालमा अमेरिकी कम्पनीहरूले लगानीका क्रममा राम्रो अनुभव प्राप्त गर्ने र सफल व्यावसायिक साझेदारी गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ । यहाँ अमेरिकी कम्पनीहरू सफल भएमा अन्य कम्पनीसमेत नेपाली बजारमा प्रवेश गर्न प्रोत्साहित हुने उनको भनाइ थियो ।

उनले अमेरिकी कम्पनीमार्फत नेपालमा नयाँ प्रविधि, वस्तु तथा सेवाको विस्तार हुन सके दुवै मुलुकले आर्थिक लाभ लिन सक्ने बताए । साथै, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक प्रक्रियालाई सहज बनाउनुपर्ने विषयमा नेपालमा बढ्दो चासो देखिएको उल्लेख गर्दै यसका लागि अमेरिकी दूतावासले नुसाक्कीलगायत संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका क्रममा उनले भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति दुःख व्यक्त गरे । विपद्पछिको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी आर्थिक सहयोग प्रदान गरिसकेको पनि उनले जानकारी दिए । बाढीका कारण प्रभावित परिवार तथा बेपत्ता अमेरिकी नागरिकको अवस्थाप्रति समेत उनले चिन्ता व्यक्त गरे ।

नेपाल र अमेरिकाबीच झण्डै आठ दशक लामो कूटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै अर्बोमले आगामी दिनमा व्यापार, लगानी र नवीन प्रविधिका क्षेत्रमा सहकार्यलाई अझ विस्तार गर्ने अमेरिकी चाहना रहेको बताए ।

उनले दुई देशबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने निजी क्षेत्रका प्रतिनिधि र व्यक्तिहरूको भूमिकाको प्रशंसा गर्दै कार्यक्रममा सम्मानित तथा पुरस्कृत हुने सबैलाई बधाई दिए । निजी क्षेत्रको सक्रियताले नेपाल–अमेरिका आर्थिक साझेदारीलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरे ।